BHIM UPADHYAYA

* “New ideas pass through three periods: i.It can not be done. ii.It probably can be done, but it is not worth doing. iii.I knew it was a good idea all along!” --Scientist & Science Fiction Writer Arthur D Clarke; अमंत्रमक्षरं नास्ति, नास्ति मूलंनौषधनम् । अयोग्यः पुरुषो नास्ति, योजकस्तत्र दुर्लभः ।।(मन्त्र नहुने अक्षर हुदैन, ओैषधि नहुने वनस्पति हुदैन, योग्यता नभएको मान्छे हुदैन, तर जहातही कुशल व्यवस्थापकको कमी छ ।)

Tuesday, September 21, 2010

इ-शासनयुक्त नयां नेपाल (नयापत्रिका दैनिक)

ई-शासनयुक्त नयाँ नेपाल
भीम उपाध्याय

सरकारको काम शासन हो । ई-शासनको गन्तव्य असल शासन हो । ई-शासनविना पनि असल शासन हुन सक्छ । उसो भए ई-शासनले सुशासनप्राप्तिमा कसरी थप असर पार्छ त ? त्यो फरक शासन सञ्चालनको गति र तीव्रतामा भेट्न सकिन्छ । पारदर्शिता, जवाफदेहिता, अनुमेयता र विधिको शासनसहितको सरकारी सेवा सञ्चालन प्रणालीलाई तीव्र गतिमा सम्पादन गर्ने कार्यमा कम्प्युटरीकृत सूचनाप्रविधिले विश्वभरि अद्वितीय क्रान्तिकारी परिवर्तन ल्याइदिएको छ ।

विश्वकै धनाढ्य सूचनाप्राविधिज्ञ बिल गेट्स भन्छन्, 'विचारको गतिमा व्यवसाय गर्न सूचनाप्रविधिबाट अब सम्भव छ ।' विश्वविख्यात भविष्यविज्ञ एल्भिन टोफ्लरका शब्दमा विश्वभरिका देशलाई दुई वर्गमा बाँड्न सकिन्छ । ती मुलुक कम्युनिस्ट र क्यापिटलिस्ट, धनी र गरिब, विकसित र अविकसित, पूर्वीय र पश्चिमा, उत्तरी र दक्षिणी, इसाई र इस्लाममा विभक्त छैनन् । ती केवल द्रुत र सुस्त राष्ट्र हुन् ।' धनी वा विकसित देशका सबै क्रियाकलापको सञ्चालनगति दु्रत हुन्छ । गरिब वा अविकसित देशमा सबै कार्य सुस्त हुन्छ । द्रुत कहलिएका देशले सूचना-प्रविधिको भरपूर प्रयोग गर्छन् । गरिब र अविकसित मुलुक परम्परागत लुम्सो प्रविधिमै रुमल्लिएका हुन्छन् ।


असल शासनमा जनताले पाउने सेवासुविधा वा सरकारको कार्यसञ्चालन सरल, नैतिक, जवाफदेहीपूर्ण, उत्तरदायी र पारदर्शी गुणात्मक हुनुपर्छ । सरकारी सेवालाई ई-शासित बनाउन ढिलो गरिए नेपाल प्रतिस्पर्धामा टिक्नसक्नेछैन, समृद्ध नयाँ नेपालको सपना दुःस्वप्नमा परिणत हुनेछ । विश्वप्रख्यात डिजिटल भविष्यद्रष्टा निकोलस नेग्रेपोन्टले भनेका छन्, 'कुनै पनि देशको दु्रत विकासमा त्यहाँ मौजुद भौतिक पूर्वाधारको भन्दा संस्कृतिकोे भूमिका ठूलो हुन्छ ।' विकासको तीव्रतामा संस्कृतिको ठूलो महत्त्व छ । नयाँ नेपाल निर्माणका लागि नेपाली प्रशासनतन्त्रको संस्कृति ई-शासन मैत्रीपूर्णता कत्तिको छ ? यसको विवेचना हुनु आवश्यक छ । ई-शासन एवं असल शासनको मार्गको यात्रालाई गन्तव्यमा पुर्‍याउन तीन संस्कृति तगारा बनेका देखिन्छन् जो अझै जस्ताको तस्तै छन् । ती हुन्- अति गोप्यताको संस्कृति, वरिष्ठताको संस्कृति र भ्रष्टाचारी संस्कृति । त्यसमाथि, प्रविधिकेन्दि्रत ई-शासनले आधुनिक प्राविधिक कौशल, सीप, नेतृत्वक्षमता, पद्धति रूपान्तरणमा उच्च तहको संरक्षकत्व र दृढ निश्चयीपनाको थप आग्रह गर्छ । वर्तमान राजनीति गर्ने पुस्ताका लागि यो कम्ती चुनौतीको विषय छैन ।

सूचनाको पहुँचबाट अरूलाई वञ्चित पारेर आफूमा एकाधिकार राख्नसके आफू शक्तिशाली भएको ठान्ने प्रवृत्तिले गोप्यताको संस्कृतिलाई मलजल दिँदै आएको छ । वरिष्ठताको मान्यताको संस्कृतिको पछाडि नयाँ प्रविधिप्रतिको भय वा प्रविधिप्रेमी दक्ष युवापुस्ताले आफूलाई विस्तापित गर्लान् भन्ने संशय लुकेको हुन्छ । सूचना-प्रविधि घुसखोरी र भ्रष्टाचारलाई अन्त्य गर्न सहयोग पुर्‍याउने शक्तिशाली साधन हो । यसबाट अनैतिक आम्दानीको मुहान बन्द हुने स्थिति सिर्जित हुन पुग्दा भ्रष्ट संस्कृति व्याप्त विद्यमान शासनव्यवस्था यसको विरोधमा खडा हुन पुग्छ ।

ई-शासन लागू गर्न असमर्थ भइयोे भने परम्परागत शासन-पद्धतिबाट जति प्रयत्न गरे पनि अपेक्षित चरित्रको असल शासन स्थापित हुन सक्दैन । बिस्तारै एक दिन मानिसको नियत र मनोवृत्ति परिवर्तन होला, अनि सुशासन आउला भन्दै दशकौँ पर्खन सकिन्न । तर, सुशासनका लागि अत्यावश्यक ई-शासनपद्धति रूपान्तरणमा पनि चुनौती थुप्रै छन् । शासन सञ्चालकमा डिजिटल सूचना प्रविधिको ज्ञान, सीप, कला, कौशलमा पारंगतता हुनु ई-शासनको पूर्वसर्त हो । सूचनाप्रविधि क्रान्तिकारी ढंगमा तीव्र विकसित हँुदै गरेको कान्छो आधुनिक प्रविधि हो । अधिकांश सरकारी अधिकारी या त यस प्रविधिमा अनभिज्ञ छन् या उमेर ढल्किएकाले सिक्न अनिच्छुक छन् । सरकारी सेवामा पर्याप्त संख्यामा प्रविधिप्रेमी नयाँ पुस्ताहरूको नियमित प्रवेश गराउने गरिएको छैन । नेपाली कर्मचारीतन्त्रमा आधुनिक प्रविधिप्रतिकूल संस्कृतिका अतिरिक्त सूचना प्रविधिको क्षमता र सम्भावनाको कल्पना नै गर्न नसक्ने समूहको बाहुल्य छ ।

अधिकांश विकासशील मुलुकमा आफूले पाउने सेवा सस्तो सरल, पारदर्शी भएको देखेपछि मात्र जनताले प्रविधि र अधिकारीहरूको प्रशंसा गर्ने गर्छन् । छिमेकमा भएका सफलताका दृष्टान्तहरू प्रसारित हँुदै आफ्नै आँखाले सकारात्मक परिवर्तन देख्न पाएपछि त्यहाँ पनि त्यस प्रकारको शासन प्रविधि वा पद्धतिको माग बढ्न थाल्छ । अरू वातावरण जतिसुकै परिपक्व वा अनुकूल भए पनि असल नेतृत्वको अभावमा जसरी राजनीतिक क्रान्तिले मूर्तरूप लिन सकेको हुँदैन, त्यसैगरी दह्रो असल प्राविधिज्ञको नेतृत्वविना सूचना प्रविधिको उपयोगबाट खोजेको सुशासन सम्भव छैन । शासनपद्धतिमा रूपान्तरण ल्याउन सूचना-प्रविधिको सफल उपयोगको अठोटसाथ कुनै राजनीतिक वा प्राविधिक नेतृत्व अघि सरेको अझै दृष्टिगोचर हँुदैन । प्रशासनिक वरिष्ठ तहको नेतृत्व गर्नेमध्ये ई-शासनमा सिद्धहस्त मानिने चिनिएका मान्छेमध्ये कोही देखिँदैनन् ? जागिरे प्रवृत्ति भएका मन्त्री र बूढो गोरुले कोरलीगाई ओगट्ने, कुहिएको मनोवृत्तिका, जुनै सर्तमा पनि पदमा टाँस्सिन नछाड्ने यहाँका वरिष्ठ अधिकारीले आधुनिक प्रविधिमा पोख्त युवापुस्तालाई अभिप्रेरित गर्दै नेतृत्व गर्न र ई-शासन सफल भई जनताले सुशासनको अनुभूति गराउन फलामको च्युरा चपाएसरह हुने देखिन्छ । राजनीतिज्ञ, वरिष्ठ सरकारी अधिकारी, विशेषज्ञ र प्राविधिज्ञहरूको सहकार्य र अगुवाइमा मात्र यस्ताखाले संस्थागत शासकीय रूपान्तरण सफल हुने गरेका हुन् । स्वदेशी पैसा, स्वेदेशी वस्तु-साधन, राष्ट्रप्रेमी विशेषज्ञ, अधिकारीको लगनशीलता, दृढ प्रतिबद्धता, नेतृत्व, सक्रिय सहभागिता र संलग्नताविना सूचना-प्रविधि क्रान्तिको उपलब्धिलाई उपयोग गर्दै कार्यान्वयन गर्ने जमर्को गरिएमा ई-शासनले यहाँको कचल्टिएको वर्तमान जुम्सो, लुम्सो, षड्यन्त्रमुखी, अपारदर्शी, भ्रष्ट शासकीय प्रणालीमा रूपान्तरण ल्याउन सक्नेछ । प्रविधिप्रेम घनीभूत नयाँ पुस्ताको बाहुल्य समाजमा छ, तर सरकारमा तिनको उपस्थिति शून्य देखिन्छ । सुशासनसहितको नयाँ नेपालको चाहनालाई मूर्तता दिन क्रमभंगता ल्याउनुपर्ने क्षेत्र अहिले यही हो ।

प्रतिबद्ध राजनीतिक नेतृत्व र वरिष्ठ सरकारी अधिकारीको अग्रसरताविना ई-शासनबाट सुशासन सम्भव हुने गुन्जायस छैन । यसलाई मुलुकको राजनीतिले निरन्तर संरक्षण र हौसला दिएको हुनुपर्छ, विशेषज्ञ कर्मचारीले निराश नभई अभियान जारी राख्नुपर्छ । दृढ इच्छाशक्ति, लगन, परिश्रम, कौशल र सीपको प्रदर्शन खाँचो पर्नेछ । मलेसियामा मोहम्मद महाथिर, सिंगापुरमा लिक्वान यु, चीनमा डेङ जिआव पेङ, कोरियामा पार्क चुङ ही, भारतमा राजीव गान्धीजस्ता राजनेताले सूचना प्रविधिलाई राष्ट्रनिर्माणमा उपयोग गर्ने दृढ एवं दिगो नेतृत्व गरे । कर्मचारीतन्त्रतर्फबाट जति प्रतिरोध खेप्न परे पनि बुलडोजिङ गरेरै छिमेकी भारतमै पनि सम्पूर्ण आन्ध्र प्रदेशभरि पूर्वमुख्यमन्त्री चन्द्रबाबु नाइडु ई-शासन स्थापित गराइछाड्ने भारतकै पहिलोे सफल प्रविधियोद्धा बने । फलस्वरूप आन्ध्र प्रदेशको सदरमुकाम हैदराबाद अहिले साइबराबाद नामले पनि परिचित छ ।

मध्यप्रदेशमा ज्ञानदूत नामको लोकपि्रय अनुपम विद्युतीय शासन संचालित छ । ग्रामीण आर्थिक क्रियाकलापको सूचनाका लागि त्यस्तैखाले अर्को आठ भारतीय प्रदेशमा लोकपि्रय ई-चौपाल कार्यक्रम छ । भारतका ६ लाख चानचुन सबै ग्राम पंचायतलाई एकआपसमा ई-संजालद्वारा आबद्ध गर्ने बृहत् प्रत्येक गाउँ ज्ञानकेन्द्र बनाउने लक्ष्य लिइएको ८० भन्दा बढी ठुल्ठूला स्वदेशी, विदेशी संघसंस्था र सयौँ राजनीतिज्ञ, वैज्ञानिक, प्राविधिज्ञ र विशेषज्ञहरूको हातेमालोमा एलायन्स फर भिलेज नलेज मिसन कार्यक्रमको अध्यक्षता भारतीय हरित कृषिक्रान्तिका पिता, जेनेटिक्स विद्याका विश्वप्रसिद्ध वैज्ञानिक एवं विज्ञान प्रशासक, राष्ट्रिय अन्तर्राष्ट्रिय विश्वविद्यालयबाट ५८ भन्दा बढी मानार्थ विद्यावारिधिद्वारा सम्मानित भइसकेका ८४ वषर्ीय डा स्वामीनाथनले गरेका छन् । तीन दर्जनभन्दा बढी मानार्थ विद्यावारिधिद्वारा सुशोभित भइसकेका भारतका वैज्ञानिक-इन्जिनियर पूर्वराष्ट्रपति डा. कालामले आफ्नो कार्यकालमा राष्ट्रपति भवन कार्यालयलाई पूर्णतः ई-शासनद्धारा संचालित गरे । महान लक्ष्यप्राप्तिका लागि भिजनरी व्यक्तित्व, वैज्ञानिक, प्रशासनिक नेतृत्व अपरिहार्य छ । नयाँ नेपालले पनि त्यस्तै महान् भिजनरी नेताहरूको आग्रह गरेको छ ।

No comments:

Post a Comment