BHIM UPADHYAYA

* “New ideas pass through three periods: i.It can not be done. ii.It probably can be done, but it is not worth doing. iii.I knew it was a good idea all along!” --Scientist & Science Fiction Writer Arthur D Clarke; अमंत्रमक्षरं नास्ति, नास्ति मूलंनौषधनम् । अयोग्यः पुरुषो नास्ति, योजकस्तत्र दुर्लभः ।।(मन्त्र नहुने अक्षर हुदैन, ओैषधि नहुने वनस्पति हुदैन, योग्यता नभएको मान्छे हुदैन, तर जहातही कुशल व्यवस्थापकको कमी छ ।)

Tuesday, September 21, 2010

खोइ इन्जिनियरलाइ शक्ति? (नयापत्रिका)

खोइ इन्जिनियरलाई शक्ति ?

भीम उपाध्याय



सिंगापुर, हङकङ, ताइवान र दक्षिण कोरियालाई एसियाका चार बाघ भनिन्छ । ती कोरा राजनीतिक सिद्धान्तको पुच्छर समातेर बाघ बनेका होइनन् । युगअनुकूल आफ्ना तुलनात्मक लाभका क्षेत्रमा मूल्यवर्द्धन गर्दै विश्वमा मुनाफामुखी निर्यात-व्यापार कब्जा गर्ने काममा सफल नेतृत्व गरी ती धनी भए । तिनले वेलैमा गुणस्तरीय वैज्ञानिक एवं प्राविधिक शिक्षालाई महत्त्व दिए, गुणस्तरीय भौतिक पूर्वाधार तीव्र रूपमा निर्माण गरे । प्राविधिक एवं इन्जिनियरिङ शिक्षाप्राप्त जनशक्तिलाई निणायक ओहोदामा आकषिर्त गर्दै तिनलाई जिम्मेवार बनाउँदै लगे ।

नेपालको राजनीति, कर्मचारीतन्त्र र जनसाधारणमा भने इन्जिनियरिङ समुदायले अर्थतन्त्रमा पार्नसक्ने चमत्कार र महत्त्वको न्यूनतम ज्ञान पाइँदैन । त्यस्तै चुनौतीलाई आमन्त्रित गर्दै राष्ट्रको नेतृत्व गर्ने आवाज एवं आक्रामकताको यहाँका इन्जिनियरमा कमी देखिन्छ । यही उदासीनता सम्भवतः मुलुकलाई प्रतिस्पर्धी बनाउने धरातल कमजोर पार्ने तत्त्व हो । यहाँका इन्जिनियर एवं वैज्ञानिकले मुलुक बनाउने भूमिका अब कति महसुस गर्नेछन्, त्यसैमा नयाँ नेपालको समृद्धि निर्भर हुनेछ ।


अन्तर्राष्ट्रिय बाध्यताले भए पनि नेपाल विश्व व्यापार संघको सदस्य बनिसकेको छ । भूमण्डलीकृत विश्वमा अरूभन्दा इन्जिनियरिङ पेसाको जिम्मेवारी बढी हुन्छ । इन्जिनियरिङ प्रतिस्पर्धात्मक क्षमताले नै विश्वलाई हाँकिरहेको छ । प्रतिस्पर्धात्मक विश्वमा टिक्न र अगुवाइ गर्न सकिए भूमण्डलीकरणबाट फाइदै-फाइदा छ, नसके बर्बादी नै बर्बादी । औद्योगिक क्रान्तिदेखि नै प्रविधि र इन्जिनियरिङ क्षेत्रमा अग्रस्थानमा रहेका मुलुक नै आज समृद्ध र शक्तिशाली छन् । यही सूत्र अँगालेर अन्य मुलुक छोटै अवधिमा धनाढ्य बन्न सफल भएका हुन् ।

वर्तमान र विगत शताब्दीकोे सभ्यताबीचका मानवमा अतुलनीय अन्तर छ । धनी र गरिब मुलुकका जनताबीच पनि त्यत्तिकै भिन्नता छ । सडक र बाँधदेखि मोबाइल, हवाईजहाज र अन्य सुविधाका कारणले नै मानवजातिले विगतमा भोग्नुपरेका तमाम प्राकृतिक अवरोध एवं अज्ञानताका कष्ट र अप्ठ्यारा अब छैनन् । सय वर्षअधि मानिस तीस-चालीस वर्ष बाँच्थे, अहिले सय वर्ष । त्यसवेला हवाईजहाज र कम्प्युटर थिएन, आज अन्तरिक्षयान र अन्तरिक्ष-पर्यटन दालभात खाएसरह भएको छ । पचास वर्षअघिसम्म विश्वमा खाद्यान्न उत्पादनको आधुनिक ज्ञानको कमीले गर्दा अनिकालले करोडौँ मान्छे मर्थे, अहिले अर्बौंलाई पर्याप्त खाद्यान्न उपलब्ध छ । यत्रो उन्नति भइसक्दा पनि प्रविधिको पहँुच नपाएर वा उपयोग गर्न नजानेर अर्बौं पृथ्वीवासी पीडित छन् । राजनीति समृद्धिको प्रतिकूल हुदा प्रविधिको विकास र योग्य प्राविधिज्ञलाई नभई नहुने वातावरण सिर्जना हुदैन । नेपाल पनि राजनीतिपीडित छ, फलस्वरूप तीव्र कंगालीकरण हुँदै छ ।

इन्जिनियर, वैज्ञानिक वा प्राविधिज्ञको संख्या र घनत्व मुलुकको समृद्धिको सूचक हो । अहिले नेपालको तीव्र विकासका निम्ति आवश्यक इन्जिनियर एवं प्राविधिज्ञको ज्यादै कमी छ । सीमित इन्जिनियर एवं प्राविधिज्ञले समेत राष्ट्रिय समृद्धिका निम्ति अर्थपूर्ण योगदान गर्ने वातावरण छैन । कर्मचारीतन्त्र र राजनीतिको निणर्ायक पदमा यिनलाई आउन दिइएको छैन । जताततै गैरपेसागत क्षेत्रको आधिपत्य एवं हस्तक्षेपकारी प्रथाको निरन्तरता छ । यिनले सत्ताद्वारा निरुत्साहित एवं दुत्कारेको अनुभूति गर्नु राष्ट्रिय विडम्बना हो । यहाँ अनुसन्धान र विकास क्षेत्रको योजना एवं कार्ययोजनाको नक्सासम्म कोरिएको छैन, महल ठडयाउने त कहिले हो कहिले । फलतः विकासको सम्भावना, ज्ञान एवं जुक्ति विद्यमान हुँदाहुदै पनि नेपाली जनताले अनाहकमा दर्दनाक पीडा भोग्नुपर्ने अपराध हुँदै छ ।

तीव्र विकासवान् मुलुकमा हुनेगरेका प्राविधिज्ञ एवं इन्जिनियरको परिचालनबाट नेपालले कहिल्यै पाठ सिक्ने कोसिस गरेको छैन । ताइवानमा बर्सेनि उत्पादित स्नातकमध्ये ३५ प्रतिशत इन्जिनियर छन् । दक्षिण कोरियामा प्रतिवर्ष उत्पादन हुने आधा स्नातक इन्जिनियर छन् । चीनमा कुल स्नातकमध्ये ४६ प्रतिशत ः साढे तीन लाख इन्जिनियर हुन्छन् । त्यहाँ राष्ट्रपति, दुई उपराष्ट्रपति, प्रधानमन्त्री, चार उपप्रधानमन्त्री, आधा मन्त्री र सबै पाँच स्टेट काउन्सिलर इन्जिनियर छन् ।

भारतमा पनि प्रतिवर्ष पचासौँ हजार इन्जिनियर उत्पादन हुन्छन्, जो आवश्यकताको तुलनामा त्यहाँ न्यून मानिन्छ । भारतको भिजन निर्माता पूर्वराष्ट्रपति अब्दुल कलाम स्वयं पेसेबर रकेट इन्जिनियर हुन् । बिहारका मुख्यमन्त्री नितीशकुमार इन्जिनियर र आन्ध्रप्रदेशका मुख्यमन्त्री पेसेबर चिकित्सक हुन् । स्थानीय प्रशासक आइएएस अधिकारीमध्ये एक-तिहाई इन्जिनियर नै छन् । विश्वमा सबैभन्दा ठूलो सञ्जाल र संख्या रहेको सरकारी विज्ञान अनुसन्धान संस्थामा लाखौँ वैज्ञानिक, इन्जिनियर एवं प्राविधिज्ञ कार्यरत छन् । नेपालमा पनि बर्सेनि करिब तीन हजार इन्जिनियर स्नातक उत्पादन भइरहे पनि उच्च निणर्ायक तहमा ती नगण्य छन् ।

राजनीतिक समस्या समाधान नभए अरू समस्या समाधान हुन गाह्रो हुन्छ, तर राजनीतिक समस्या समाधान हुँदैमा अरू समस्या आफै फुमन्तर हुदैनन् । प्रविधिमा पछि परेको मुलुकको राजनीतिक-सामाजिक समस्या स्वतः गुजल्टिँदै गएका हुन्छन् । राजनेताहरू एक ठाउँमा बसेर सही धस्काएजस्तो वैज्ञानिक, प्रविधिगत, इन्जिनियरिङ क्षेत्रका समस्या सजिलै समाधान हँुदैनन् । वैज्ञानिक, इन्जिनियरिङ र प्रौद्योगिकी क्षेत्रमा पुस्तौँपुस्ताको निरन्तर अनुसन्धान, विकास, अभ्यास जरुरी छ । यसनिम्ति संस्थागत स्वतन्त्रता, स्वायत्तता, अनुकूल कार्यवातावरण सृजना गरिनुपर्छ र नीतिनिर्माण एवं निणर्ायक तहमा तिनलाई जिम्मेवार बनाउँदै आकषिर्त गरिनुपर्छ । प्रतिभाहरू चञ्चल हुन्छन्, जहाँ सम्मान पाउँछन्, ती त्यतै बसाइँ सर्छन् । प्रतिभालाई टिक्ने-टिकाउने वातावरण सिर्जना गर्ने मुलुक नै समृद्ध बन्छ । अमेरिका यही रणनीतिबाट महाशक्ति भएको हो ।

प्राकृतिक स्रोतमा धनी नेपालले प्राविधिक क्षमताको अभावका कारण त्यसको उपयोगमा मूल्यवर्द्धन र प्रतिस्पर्धात्मक अन्तर्राष्ट्रिय व्यापारको समस्या भोग्नुपरेको छ । प्रतिस्पर्धी गुणस्तरीय उत्पादन र उत्पादकत्व इन्जिनियरिङ विषयको कार्यक्षेत्र हो । जतिवटा पञ्चवषर्ीय योजना लागू गरिए पनि राष्ट्रिय प्राकृतिक एवं मानव स्रोत तथा उत्पादनमा मूल्यवर्द्धन गर्ने मौलिक सोच एवं क्षमताको सधैं कमी रह्यो । दाहिने, देब्रे वा मध्यमार्गी राजनीतिक आस्था राख्ने सरकार बने पनि परनिर्भर र मगन्ते मानसिकतामा मात्र प्रतिस्पर्धा हुँदै गयो ।

महान् वैज्ञानिक ग्यालिलियोले भनेका थिए, 'मानिसको कष्ट कम गर्नु विज्ञानको गन्तव्य हो ।' मानवीय आवश्यकता परिपूर्ति र अप्ठ्यारा समाधान गरी आर्थिक समृद्धि हासिल गर्न प्रकृतिको बन्धनलाई आवश्यकताअनकूल रूपान्तरण गर्ने जिम्मेवारी इन्जिनियरकै हो । लागत, समय, गुणस्तर, तौल, आकार, दक्षता, वातावरणीय प्रभाव, स्रोत-संरक्षण, सुरक्षा, निर्माणयोग्यता, मर्मतयोग्यता, ऊर्जाखपत, तापविसर्जन आदि अनेकन् पक्षको समाधान इन्जिनियरले खोज्नुपर्छ । स्वार्थी राजनीतिकर्मी र छट्टु प्रशासनतन्त्रको भरमै अगाडि बढिए मुलुक थप कबाडी बन्नेछ ।

इन्जिनियरका निम्ति अहिलेसम्म नेपाल आकर्षणको केन्द्र बन्न सकेको छैन । विश्वभरि जताततै इन्जिनियरको माग एवं खाँचो बढ्दो छ । योग्य इन्जिनियर विश्वमा जहाँ पनि सजिलै बिकिरहेका छन् । मुग्लानमा यहाँभन्दा सुविधायुक्त जिन्दगी बिताउने सजिलो विकल्प छ । नेता वा प्रशासकको कचकच सुनिरहने दरकार नेपाली इन्जिनियरलाई छैन ।

No comments:

Post a Comment