महाकाली सन्धिका आँकडाः एक प्राविधिक विवेचना
‑युनिकोडमा‑ हिमालय टाइम्स १७ कार्तिक,०५३ मा पर्काशित
भीम उपाद्याय
सम्बत २०५२ साल माघ २९ गते (फेब्रुअरी १२, १९९६) नेपाल–भारतबीच महाकाली सन्धि सम्पन्न भए यता सन्धिसम्बन्धी विभिन्न पत्र पत्रिकाहरुमा सैकडौं लेख, अन्तर्वार्ताहरु छापिइसकेका छन् । राजनेत , पत्रकार, वकिल, अर्थशास्त्री, इन्जिनियरहरुका विभिन्न विचार र आँकडाहरु पनि प्रकाशित भएका छन् । विचारहरुमा भिन्नता हुनु स्वााविक छ तर आँकडाहरुमा पनि व्यापक भिन्नता पाइन्छ । आँकडा प्रस्तुत गर्दा सतर्कता नअपनाइएको प्रशस्त उदाहरणहरु ती लेख, अन्तर्वार्ताहरु पढ्दा भेटिएका छन् । यसले गर्दा पाठकहरुमा भ्रम उत्पन्न हुनजाने हुन्छ । यस्ता बहुउद्देश्सीय आयोजनाहरुको बारेमा प्रस्तुत हुने आँकडाहरुको अंकलाई दर्शाउने मापन एकाई लेख्दा गल्ती हुन नपाओस भनी पर्याप्त हेक्का राख्नुपर्छ अन्यथा यस्ता आँकडा प्रस्तुत गर्नुको कुनै अर्थ रहँदैन । यस्ता अंक र एकाईका मर्म बुझ्न सबैलाई त्यति सहज पनि हुदैन, सम्बन्धित प्राविधिज्ञहरु नै यसका खास जानिफकार हुन्छन् । असम्बन्धित पेशाका विज्ञहरुले यसरी आँकडा प्रस्तुत गर्दा त झन् बढी सतर्क हुनुपर्छ र प्रमाणिक तथ्याँकको मात्र सहयोग लिनुपर्ने हुन्छ । त्यस्तै पत्र पत्रिका प्रकाशनले पनि प्रुफ गल्ती नहोस् भन्ने तिर विशेष चनाखो रहनु पर्दछ ।
महाकाली (टनकपुर) सन्धिका पक्ष–विपक्षमा छापिएका सामग्रीहरुमा उल्लेख भएका विभिन्न तथ्यांक र त्यसका मापन एकाइहरुमा एकरुपता नभइदिंदा र त्रुटिपूर्ण इकाइको चयन भएको कारणबाट आँकडाहरुलाई बुझ्न र यसबाट निष्कर्ष निकाल्नु हम्मे परिरहेको हुन्छ । यी आँकडाहरु विशुद्ध प्राविधिक भएकोले प्राविधिक पक्षको सामान्य ज्ञान नभएकाहरुलाई त्यति बोधगम्य नहुनु स्वाभाविक पनि छ । सम्बन्धित स्थानको नक्सा, आँकडाहरुको तालिकालाई अगाडि राखी अध्ययन गर्दा मात्र यस्ता आयोजनाहरुको यथार्थता बुझ्न सजिलो पर्दछ ।
किन यस्ता तथ्यांकहरुमा भिन्नता भइरहेका होला् त ? पाठकहरुलाई लाग्दो हो । हामीसित नेपालमा यस्ता किसिमका प्रमाणिक तथ्यांकको अभाव छ र तथ्यांकहरु पनि भारतीय दस्तावेज र पुस्तकहरुबाट खोज्नुपर्ने हुनाले तथ्यांक वा सूचनाहरुमा भिन्नता रहने गरेको हुन्छ ।
महाकालीसम्बन्धी लेखहरुमा पाठकहरुले बिजुलीबारे वाट, किलोवाट, मेगावाट, युनिट आदि एकाइहरु उल्लेख भएको पाउनुभएको हुनुपर्छ भने पानीको सम्बन्धमा डिस्चार्ज, क्युसेक, क्युमेक आदि लेखिएका हुन्छन त्यस्तै जग्गाजमिन मापनको सम्बन्धमा हेक्टर, एकड, रोपनी, बिघा आदि शब्दहरु प्रयोग भएका हुन्छन् ।
बिजुली मापन सम्बन्धमा युनिटले बिजुलीको खपत परिमाण जनाउँछ । १ किलोवाट (१००० वाट) क्षमताको बिजुलीको उपकरण बाल्दा १ घण्टामा खपत गर्ने बिजुलीको परिमाण १ युनिट हुन्छ । किलोवाट भन्नाले बिजुलीको परिमाण अथवा बिजुली उत्पादन वा खपत क्षमता भन्ने बुझिन्छ ।
मेगावाट भन्नाले १००० किलोवाट बराबरको विद्युत खपत वा उत्पादन क्षमता भन्ने बुझिन्छ । त्यस्तै पानी मापन सम्बन्धमा अर्थात पानी बग्नेक्षमता भन्नाले डिस्चार्ज कुनै नदी, खोला वा नहरबाट प्रतिएकाई समयमा कति परिमाणको पानी बग्छ सो बारे बुझिन्छ । डिस्चार्ज नाप्ने एकाईहरु क्युसेक र क्युमेक हुन् ।
क्युसेकः एक घनफुट प्रतिसेकेन्ड डिस्चार्ज बराबर १ क्युसेक हुन्छ ।
क्युमेकः एक घनमिटर पानी एक सेकेन्डमा डिस्चार्ज हुन्छ भने यसलाई १ क्युमेक भनिन्छ । १ क्युमेक बराबर ३५ क्युसेक हुन्छ ।
जग्गा जमिनको मापन सम्बन्धमा हेक्टरले जग्गाको क्षेत्र वा मात्रा सम्बन्धमा बुझाउँछ । जस्तो १०,००० वर्गमिटर क्षेत्र बराबर १ हेक्टर हुन्छ (१०० मिटर लम्बाई र १०० मिटर चौडाइ भएको वर्ग क्षेत्रलाई १ हेक्टरमा करिब डेढ बिघा अथवा अढाई एकड जमिन हुन्छ । करिब २० रोपनी बराबर १ हेक्टर क्षेत्रफल हुन्छ ।
त्यस्तै, यस्ता सम्झौताहरुमा केही निम्नानुसारका शब्दावलीहरु प्रयोग भएका पाईन्छन् । हेडवक्र्स, ढोकेबाँध (बराज), हेडरेगुलेटर, विद्युतघर, एफ्लक्स वण्ड ।
हेडवर्क्सः नदी वा खोलालाई कुनै नहरतर्फ फर्काउन पर्दा नदीलाई छेक्नको लागि निर्माण गरिने संरचना नै हेडवक्र्स हो ।
हेडरेगुलेटरः कुनै नहरमा आवश्यकता अनुसारको परिमाणमा पानी पठाउनु नहरको मुहानमा निर्माण गरिने ढोकाहरु भएको संरचनालाई हेडरेगुलेटर भनिन्छ ।
ढोकेबाँध वा ब्यारेजः यदि हेडवक्र्समा पानी पठाउन ढोका राखिएको हुन्छ भने यसलाई ब्यारेज भनिन्छ ।
एफ्लक्स बण्डः नदीमा हेडवक्र्सको माथिल्लो भागमा दायाँबायाँ किनारमा बनाइने पर्खाल जसले हेडवक्र्स वा हेडरेगुलेटरमा पानीको सतहलाई उच्चा पार्दछ र साथै हेडवकर्सको दायाँ बाँधबाट नदीले धार फेर्ने सम्भावनालाई रोक्दछ, यसलाई एफ्लक्स वण्ड भन्छन् ।
बिजुलीघरः यसले उत्पादन गर्ने उपकरणहरु टर्वाइन, जेनेरेटर राख्ने घरलाई जनाउँछ ।
अन्ततः महाकाली सन्धि नेपालको संसद्बाट अनुमोदन भइसकेको छ राष्ट्रिय सहमति भएको भनिए तापनि यो एउटा वैचारिक सहमति भन्दा प्राविधिक सहमति मात्र भएको हो कि भन्ने आभास अनुमोदन पश्चात सहमति व्यक्ति गर्ने प्रमुख राजनीतिक पार्टीहरुको हाल उत्पन्न विवादले देखाउन थालेको छ । कसरी किन यस्ता समस्याहरु आइपरे होलान् ? यसको जरा खोतल्दै जाँदा इतिहास तर्फै पनि विचरण गर्न जरुरी हुन्छ । तसर्थ महाकाली नदी कसरी बगेको छ ? के कस्ता हुन् ती शारदा बाँध, टनकपुर बाँध ? एक पटक यता ध्यान दिने कि ?
महाकाली नदीको भूगोलः नेपालको पश्चिमको दक्षिण पश्चिम कुनामा अवस्थित दुई गा. वि. स.हरु चाँदनी र दोधारा महाकाली नदी पारि पर्दछन् । यी दुई गाविस र भारतको सिमानादेखि उत्तर तथा हाल शारदा बाँध रहेको ठाँउभन्दा अलि तलसम्मको भूभागमा महाकाली नदी पूरै नेपाल भएर बगेको छ भने हाल शारदा ब्यारेज र टनकपुर व्यारेज जम्मै भारतीय भूभागमा अवस्थित छन् । शारदा बाँध र टनकपुर व्यारेज दुबैका बायाँ एफ्लेक्स वण्डको केहि भाग नेपाली भूमीभित्रसम्म निर्माण गरिएका छन् । टनकपुर बाँधको केही माथिदेखि महाकालीको मुहानसम्म महाकाली नदी सीमानदीको रुपमा रहेको छ ।
शारदा बाँधः सन् १९२० मा श्री ३ चन्द्र शम्शेरको पालामा नेपाल र तत्कालीन ब्रिटिस सरकारबीच सम्झौता भई ४० मेगावाट क्षमताको विद्युत गृह सहित भारतका तराई इलाकामा सिंचाइ गर्नका लागि यो शारदा आयोजना (जलविद्युत एवं सिंचाइ) भारतको बनवासमा निर्माण गरिएको हो । यो बाँध निर्माण पूर्व ( सन् १९१३ मा नियमित गरिएको) नेपाल–भारत सिमाना अहिलेको नेपालको चाँदनी दोधाराको पश्चिम सीमादेखि महाकाली नदीको बीचैबीच थियो तर उक्त शारदाबाँध निर्माण गर्न नेपाल सरकारसित सम्झौता भए बमोजिम आवश्यकपर्ने नेपाल तर्फको २८९८.५ हेक्टर जमिन भारतको भूमिसँग साटिने गरी उपलब्ध गरायो । तर उक्त सट्टापट्टा हुने भूमि भारतले कहाँ दियो भन्ने बारे विवाद कायम रहेको छ । यसरी हाल शारदा व्यारेज रहेको स्थान सन् १९१३ को सीमा निर्धारण अनुसार नेपाली स्वामित्वको थियो भन्ने स्पष्ट हुन्छ।
टनकपुर बाँधः शारदा बाँध प्रमुखतः एउटा सिंचाइ आयोजना थियो भने टनकपुर बाँध विद्युत आयोजनाको रुपमा आएको छ । टनकपुर बाँधको निर्माण तत्कालीन पंचायती शासन हुँदा नै वि. सं. २०४० साल (१९८३) मा एकलौटी रुपमा भारतबाट टनकपुर सहर नजिकै निर्माण शुरु गरी सम्बत २०४८ (१९९०) मा गिरिजाप्रसाद कोईराला प्रधानमन्त्री हुँदाको समय बाँया एफ्लक्स वण्ड निर्माण गर्न भारतलाई अनुमति दिने गरी सम्झौता भएको हो । टनकपुरको सम्झौता भएको बेलादेखि आज पर्यन्त यसमा राष्ट्रिय विवादको श्रृखला जारी रहेको छ । यो टनकपुर बाँधको हेटवक्र्सै पहिले शारदा बाँध निर्माण हुँदा साटिएको जमिनमा निर्माण गरेको भए तापनि यसको बायाँतर्फ ५७७ मिटर लम्बाईको एफ्लक्स वण्ड हालको नेपालको भूमिमा निर्माण गर्दा यसबाट करिब १.५ मिटर पानीको सतह बढाउन सहयोग पुगेको र करिब १४ करोड युनिट विद्युतको थप उत्पादन बढेको भन्ने अनुमान मुताविक नेपाललाई यसको आधा ७ करोड युनिट विजुली (प्रतिवर्ष) बिना शुल्क महाकाली सन्धि अनुमोदन भएको मितिदेखि लागू हुने गरी उपलब्ध गराईने भएको छ । त्यस्तै बायाँ एफ्लक्स वण्ड निर्माण सम्पन्न भएको मितिदेखि सन्धि अनुमोदन भएको मितिसम्म वार्षिक २ करोड युनिट बिजुली दिने उक्त महाकाली सन्धिमा स्विकार गरिएको छ । बायाँ एफ्लक्स वण्ड निर्माण गर्दा नेपालको २.९ हेक्टर जमिन उपलब्ध गराईंदा नेपालको ९ हेक्टर जमिन जलमग्न हुने हुन्छ ।
टनकपुर बाँध बनाउनुको मूल उद्देश्य आयु समाप्त भएको शारदा बाँध भत्किने सम्भावना रहेकोले यसलाई प्रतिस्थापन गर्नु रहेको स्पष्ट छ । शारदा बाँधबाट सुरुमा पानी डिस्चार्ज क्षेत्रमा २७१ क्युमेक भए तापनि हाल उक्त शारदा नहरबाट ३९७ क्युमेक पानी डिस्चार्ज हुने गर्दछ । टनकपुर बाँधबाट लगिने पानी १२० मेगावाटको विद्युतगृहमा खसालिएपछि विद्युतगृहबाट निस्किएको पानी शारदा बाँधको मुखमा लगेर छोडिन्छ । टनकपुर विद्युतगृहको जडित क्षमता १२० मेघावाट भए तापनि यो विद्युतगृह वर्षको ३ महिना मात्र पूर्ण क्षमतामा र बाँकी ९ महिना आंशिक क्षमतामा चल्दछ । हाल वर्षायामको ३ महिनामा यस विद्युतगृहबाट २५ करोड युनिट र अन्य ९ महिनामा २० करोड युनिट प्रतिवर्ष विद्युत उर्जा उत्पादन गरिन्छ । वर्षको ९ महिनाभरि ४ गुणा कम विद्युत उत्पादन हुने भए तापनि विद्युतगृहमा पानी लैजाने नहरको डिस्चार्ज क्षमता हालको आवश्यकता ३९७ क्युमेकभन्दा निकै बढी ५६६ क्युमेक हुने गरी बनाइएको छ । यसरी हालको उत्पादन क्षमता र उत्पादन सम्भावनाका बीच अन्तर पारी टनकपुर योजना निर्माण गर्नुले पञ्चेश्वर आयोजना निर्माण भएपछि पानी बढ्ने सम्भावनालाई नै दृष्टिगत गरिएको प्रमाणित हुन्छ ।
विज्ञहरुको भनाइ बमोजिम टनकपुर बाँध नेपालको सहमतिमा निर्माण गर्न खोजिएको भए अहिलेको टनकपुर व्यारेजदेखि माथितर्फ ब्रम्हदेवमा बनेको भए हालको विद्युत क्षमतामा ६०% ले बृद्धि (७२ मेघावाट थप) हुन सक्दथ्यो एवं नेपालतर्फको हालको भन्दा निकै बढी जमिनमा सिंचाइ गर्न सम्भव हुने थियो । तर दुर्भाग्यवश, नेपालको पक्षमा प्राविधिक दृष्टिले अनुपयुक्त स्थानमा निर्मित सो टनकपुर बाँधबाट नेपालले अधिकतम लाभ लिन भने असम्भव भएको छ ।
पञ्चेश्वर बाँधः यो आयोजना महाकाली नदीको पञ्चेश्वर भन्ने ठाउँ नजिक (वैतडी जिल्ला पञ्चेश्वर गाविसमा) करिब रु. १ खर्ब ६० अर्बको लगानीमा लगभग ११ अर्ब युनिट बिजुली प्रतिवर्ष उत्पादन गर्न सकिने गरी प्रस्तावित गरिएको छ ।
नेपालको चाहना बमोजिम यस बाँधबाट कुल ६४८० मेगावाट विद्युत उत्पादन गर्ने क्षमता राख्दछ भने भारतले २००० मेगावाट मात्र उत्पादन गर्ने चाहना राखेको बताइन्छ । नेपालले ३१५ मि. अग्लो बाँध बनाउने प्रस्ताव गरेको बताइन्छ भने भारतले २७० मि. उचाइको मात्र बनाउने इच्छा जाहेर गरेको छ भनिन्छ । यसरी नेपालको चाहना अनुसार पञ्चेश्वर बाँध बनाउन सकिने हो भने एशिया मै यो सबैभन्दा ठूलो जलविद्युत आयोजना सिद्ध हुनेछ । तर त्यसै भेकमा पञ्चेश्वर नजिकैपारि भारतीय भूमिमा निर्माणाधीन २००० मेगावाट क्षमताको टिहरी जलविद्युत आयोजनाको विरुद्धमा भारतका पर्यावरण विद्हरुले सर्वोच्च अदालतमा मुद्दा लडिरहेका छन् र भारतीय सरकारले उक्त आयोजनाको प्रविधि र क्षमतामा पुनर्विचार गर्ने भएको छ । यस्तो परिस्थितिमा पञ्चेश्वर आयोजनाको निर्माण कार्य पर्यावरणीय दृष्टिले सहज नहुने अवस्था आउन सक्ने सम्भावना भने विद्यमान छ ।
पञ्चेश्वर योजना निर्माण सम्पन्न भएपछि सम्बन्धित विज्ञहरुको अनुमान अनुसार नेपालको बरिब ४८ हजार हेक्टर र भारतको ३५ लाख हेक्टर जमिन सिंचित हुन सक्नेछ ।
यस आयोजनाको लागि विस्तृत आयोजना प्रतिवेदन सन्धि अनुमोदन भएको ६ महिनाभित्र तयार गर्नुपर्ने र १ वर्ष भित्र आर्थिक श्रोत जुटाई २ वर्ष भित्र निर्माण सुरु गरी ८।१० वर्षमा निर्माण सम्पन्न गर्ने प्रस्तावित लक्ष्य रहेको छ ।
माथिको तालिकामा उल्लेखित टनकपुर परियोजना क्षेत्रको रेखाचित्रको अध्ययन र महाकाली नदी एकीकृत आयोजना सन्धिका विभिन्न मापदण्डको तुलनात्मक विवरणबाट यो सन्धिबारे बुझ्न पाठकहरुलाई अवश्य थप सहयोग मिल्यो होला । हाल टनकपुर योजनाबाट नेपालले प्राप्त गरेको वार्षिक ७ करोड युनिट बराबरको विद्युत हाम्रा सुनकोसी (१० मेघावाट), देवीघाट (१४ मेघावाट) का आयोजनाले पनि उत्पादन गरिरहेका हुन्छन् । महाकाली सम्झौताबाट विद्युतको हकमा पञ्चेश्वरबाँध सम्पन्न भएपछि मात्र उल्लेखनीय लाभ पाउन सम्भव हुनेछ । प्राविधिक दृष्टिले हेर्दा महाकाली सम्झौताबाट हालको फाइदा भनेको विगतको अनियमिततापूर्वक निर्मित टनकपुर योजनालाई नियमित गरी बैधता प्रदान गर्दै नेपाल–भारत सम्बन्ध बीच यथार्थमा हार्दिकताको वातावरण बन्न सहयोग पुगेमा यो यस पटकको सम्झौताको ठूलो योगदान ठहर्नेछ ।
एक पक्षबाट अर्को पक्ष छक्किएको हो कि जस्तो वर्तमान वातावरण निर्मूल नपारिने हो भने यस्ता सन्धिले आगामी वर्षहरुमा समस्या सुल्झिनेभन्दा बल्झिने भए रहिरहने छ । आजको विश्वमा कुनै पनि सम्झौता गर्दा दुवै पक्ष विजयी भएको अनुभूति हुनु सम्झौताको दिगोपनाको प्रमाणपत्र मानिन्छ । यसर्थ महाकाली सम्झौतालाई पनि दुवै पक्षको जित–जीत समाधान हो भनी व्यवहारमा प्रमाणित गर्नु दुवै राष्ट्र नेपाल–भारतको स्वार्थहित अनुकुल हुनेछ र यसमा कुनै कर बाँकी नराखिएको भन्ने अपेक्षा गर्नु अनिशय ठानिने छैन होला ।
No comments:
Post a Comment